पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिएका छन् । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका १ जनाको स्थिति अझै अज्ञात रहेको छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो ।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुने भएको छ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता १ व्यक्तिको खोजीकार्य भइरहेको बताए । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा २ किलोमिटर तल एउटा शव फेला परेको हो ।

सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो २ व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ, उनले बताए ।