आज प्रतिनिधिसभाको सभामुख पदका लागि निर्वाचन हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सभामुखका लागि सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धा गर्दैछन् ।

सांसद घिमिरेको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ रहेका छन् । समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन छन् । घिमिरे हाल एमालेको स्थायी समिति सदस्य पनि हुन् ।

कांग्रेसका न्यौपानेको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक पनि हुन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएको हो ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने र मतदान हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।