प्रतिनिधिसभा बैठक : सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ ।

बैठकमा नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको छ ।

सांसद नेम्वाङले निष्पक्ष ‘रेफ्री’का रुपमा भूमिका सक्छन् भन्ने विश्वासका साथ सत्ता गठबन्धनका तर्फबाट घिमिरेलाई सभामुख पदको उम्मेदवार बनाएको बताए । सो प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले समर्थन जनाएको थियो ।

यस्तै बैठकमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । सांसद शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको बताए । उनले शक्ति सन्तुलनका दृष्टिले पनि संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका उम्मेदवार न्यौपानेलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।

सांसद शर्माको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले समर्थन जनाएको थियो । दुवै प्रस्तावमाथि केहीबेरमा मतदान प्रक्रिया अघि बढाई सभामुख चयन गरिनेछ ।