राष्ट्रपति जो बाइडेनमाथि अनुसन्धान

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनमाथी अनुसन्धान भइरहेको छ । प्रहरी र रिपब्लिकन सांसदहरु उनको पछि लागेका छन्। अमेरिकाको न्याय विभागका अनुसन्धानकर्ताहरुले बाइडेनको डेलवेरस्थित घरबाट थप गोप्य दस्तावेज फेला पारेसँगै उनीमाथि प्रश्न उठ्न थालेको छ।

अधिकारीहरुले बाइडेनको निजी घरमा १३ घण्टासम्म, सर्च अपरेशन, गरेका थिए। त्यही क्रममा थप ६ वटा गोप्य फाइल फेला परेको बाइडेनको वकिलले नै स्वीकार गरेका छन्।

वकिल बब बउरले हातैले लेखिएको चिठीहरु भेटिएको बताएका हुन्। त्यस समयमा बाइडेन घरमा थिएनन्। यसअघि ह्वाइट हाउसले पनि डेलवेरस्थित बाइडेनको घरमा दस्तावेज फेला पारेको स्वीकारेको छ।

बाइडेन उपराष्ट्रपति हुँदा ुक्यासिफाइडु लेखिएका दस्तावेजहरु अहिले उनको निजी घरको ग्यारेजमा फेला परेको ह्वाइट हाउसका विशेष काउन्सेल रिचार्ड सउबर्रले स्वीकारेका थिए। दस्तावेजको एक पाना ग्यारेजसँगैको कोठामा भेटिएको थियो। डेलवेरको रेहोबोथ बिचमा रहेको बाइडेनको अर्को घरमा भने कुनै पनि दस्तावेज फेला परेनन्।

दस्तावेज भेटिएपछि कानुन मन्त्रालयलाई तत्काल खबर गरिएको सउबर्रले जानकारी दिएका थिए। अमेरिकी मिडियाले यसअघि बाइडेनको पूर्व कार्यालयबाट ुक्लासिफाइडु लेखिएको दस्तावेज फेला परेको समाचार प्रकाशन गरेका थिए। त्यसपछि बाइडेनको घरमा नै गोप्य दस्तावेज फेला परेको थियो।

रिपब्लिकन पार्टीका अनुसार उक्त घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनाइसकेको छ। अमेरिकाको महान्यायधिवक्ता मेरिक्क गार्ल्यान्डले पनि यसबारेमा अनुसन्धानका लागि रोबर हर्रलाई नियुक्त गरेका छन्। उनको नेतृत्वमा अहिले अनुसन्धान भइरहेको छ।

गोप्य दस्तावेज भेटिएपछि बाइडेन प्रशासनको आलोचना भइरहेको छ। ह्वाइट हाउसले भने यो घटना सार्वजनिक भएपछि आफूहरुले सक्ने सबै काम गरिरहेको बताएको छ ।