भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौँ । भूकम्पमा परी टर्कीए र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुईवटा विनाशकारी भूकम्पमा आफ्नो सरकारको प्रतिक्रियाको बचाउ गरेका छन्।

टर्कीए र उत्तरी सिरियामा गरी कम्तीमा १५ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ। आलोचकहरूले आपतकालीन सेवाहरूको प्रतिक्रिया धेरै ढिलो रहेको र सरकार कमजोर रूपमा तयार रहेको दाबी गरेका छन्।

राष्ट्रपति एर्दोगानले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गर्दै हाल स्थिति ‘नियन्त्रणमा’ रहेको बताए। तर, टर्कीएको प्रमुख विपक्षी दलका नेता केमाल किलिचदारोग्लु भने राष्ट्रपतिको उक्त भनाइमा सहमत छैनन्। ‘यदि यसमा कोही जिम्मेवार छ भने, त्यो व्यक्ति एर्दोगान हो,’ उनले भने।

राष्ट्रपति एर्दोगानले आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक भएको बताए। भने, ‘यस्तो अवस्थामा राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने मानिसहरुको मलाई वास्ता छैन।’

छिमेकी राष्ट्र सिरियामा वर्षौंको द्वन्द्वले देशको पूर्वाधारलाई ध्वस्त पारेको कारण राहत प्रयासमा जटिलता थपेको छ। टर्कीए र सिरियाबिचको बाब अल(हवा क्रसिङ भूकम्पपछि सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले बन्द गरिएको छ।

युरोपेली संघ (ईयू)ले सिरियालाई सहायताको लागि ३५ लाख युरो सहयोग पठाउनेछ बताएको छ। इडलिब प्रान्तमा मात्रै १ हजार ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सिरियाली राष्ट्रपति बशर अल, असदका सल्लाहकारले प्रतिबन्धहरूका कारण सिरिया आवश्यक सहायता प्राप्त गर्नबाट बञ्चित भएको बताए।