संसार देखाउँदै स्थानीय तह

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका ७५ वर्षीय डम्बर गिरी पाँच वर्षदेखि आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले आँखा जाँच गराउँदा मोतियाविन्दुको समस्या पहिचान भयो । जिल्ला सदरमुकाम तम्घासमा उहाँको आँखाको निःशुल्क उपचार भयो ।

बिहीबार बिहान शल्यक्रिया भएपछि आँखा देख्नुभएका गिरी संसार देख्न पाएकोमा खुसी हुनुहुन्छ । “पाँच वर्षदेखि संसार देख्न पाएको थिइनँ, अहिले नयाँ संसार देखेँ, पुर्नजन्म पाएँ जस्तो भएको छ”, उहाँले भन्नुभयो ।

मालिकाकै ७४ वर्षीया शान्ति सुनारले पनि आर्थिक अभावका कारण आँखाको उपचार गर्न सक्नुभएको थिएन । निःशुल्क शिविर आएपछि जाँच गराउँदा आँखामा मोतियाविन्दुको समस्या देखियो । गाउँपालिकाको सहयोगमा उहाँको पनि तम्घासमा निःशुल्क उपचार भयो । मोतियाविन्दुको शल्यक्रियापछि गाउँपालिका भगवान् बनेर आएको उहाँले बताउनुभयो । “फेरि संसार देख्छु भन्ने कल्पना पनि गरेको थिइनँ, तर उपचारपछि पुनः संसार देख्न सक्ने भएकी छु”, उहाँले बताउनुभयो ।

सो गाउँपालिका–३ का मनबहादुर विक र तुल्सा विक पनि आँखाको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । सात वर्षदेखि समस्या खेपिरहनुभएका विक दम्पती सो शिविरबाट खुसी हुनुभएको छ । “बुढाबुढीले नै आँखा नदेखेर समस्या झेल्नुपरेको थियो”, मनबहादुरले भन्नुभयो, “आँखा खुलेपछि हामीले एकअर्कालाई हेर्दा खुसीका आँशु खसे ।” निःशुल्क उपचार पाएपछि विपन्नलाई निकै राहात पुगेको उहाँले बताउनुभयो ।

उहाँहरुसँगै मालिकाका ६१ जनाको आँखाको निःशुल्क उपचार गरिएको छ । प्रत्येक वडामा गरिएको निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको समस्या भएका ६१ जना वृद्धवृद्धाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले जानकारी दिनुभयो । शिविरमा एक हजार छ सय आँखाका बिरामीको उपचार गरियो ।

गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले स्वास्थ्य क्षेत्रमा आफूहरु संवेदनशील भएर अगाडि बढेको बताउनुभयो । उहाँले निःशुल्क आँखा शिविरसँगै अब मुटु तथा अन्य दीर्घरोगीका बिरामीको लागि शिविर चलाउने बताउनुभयो ।

मालिकासँगै जिल्लाको रेसुङ्गा नगरपालिका, इस्मा र गुल्मीदरबार गाउँपालिकाले पनि आँखाको निःशुल्क उपचार गर्दै आएका छन् । नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको प्राविधिक सहयोगमा मोतियाविन्दुको समस्या पहिचान गरी शल्यक्रिया गरिएको हो । रेसुङ्गाले यसअघि शिविर सञ्चालन गरी ५९, इस्मा गाउँपालिकामा ३० तथा गुल्मीदरबार गाउँपालिकाका २२ जनाले आँखाको शल्यक्रिया गराए । रासस