११ औँ नेफ्टा अवार्ड : र्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो : मदनकृष्ण

काठमाडौँ । अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो ।

सङ्घका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग गर्ने बताए । उनले भने, “नेफ्टा अवार्ड जेठ १३ गते विधिवत्रूपमा सञ्चालन हुनेछ । अमेरिकामा आयोजना गरिनुको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्नु हो ।”

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताए ।

बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रूपमा बोलाइए पनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी नभए पछि यस्तो बताएका हुन् ।

प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराएको थियो। सोही विषयलाई लिएर उनले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताए । उनले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको बताए ।

उनले भने, ‘‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ, प्रमुख अतिथिको कुर्सीमा। पुरस्कार पाए जस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो।’’ सो अवसरमा उहाँले ‘एउटै इच्छा छ, तिम्रै भएर जिउने’ बोलको गीत गाएर सुनाए ।

अवार्ड कार्यक्रमका लागि जुरीले २०७९ वैशाखदेखि चैत मसान्तसम्म रिलिज भएका चलचित्र हेर्ने काम सुरु भइसकेको उनले बताए । चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष भुवन केसीले नेफ्टा अवार्ड कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउन सेतुको काम गर्नेमा सहमति जनाए । उनले भने “अमेरिकामा अवार्ड कार्यक्रम गर्नु फलामको चिउरा चपाउनुजस्तो हो । सङ्घले यो हिम्मत गरेको छ । नेपाली चलचित्रको दर्शक बढाउनका लागि यसले खेल्ने भूमिकामा बोर्डले सहयोग र सहकार्य गर्नेछ ।”

अध्यक्ष लामाका अनुसार अमेरिकाको डल्लास टेक्सासमा ६ हजार ५ सय क्षमता भएको हलमा कार्यक्रम आयोजना हुनेछ । यसअघि ४२ विधामा दिइने अवार्ड यसपटक केही संशोधन हुने बताइएको छ । कार्यक्रममा नेपालीसँगै बलिउड र हलिउड चलचित्रका कलाकारको सहभागिता हुनेछ । अवार्ड कार्यक्रममा नेपालको सात प्रदेशको सांस्कृतिक झलक र झाँकी प्रदर्शनी हुने आयोजक समूहले जानकारी दिएका छन्।

नेपाली दर्शक धेरै भएको देशमा अवार्ड कार्यक्रम गर्दै आएको अध्यक्ष लामाले बताए । नेफ्टा अवार्ड कार्यक्रम यसअघि दुबई, हङकङ, कतार र युएईमा आयोजना गरिएको थियो ।