राष्ट्रपतिको चुनाव नजिकिएसँगै माधव नेपालमा बढेको आत्मविश्वास

काठमाडौँ । माधवकुमार नेपाल राष्ट्रपतिको चुनाव नजिकिएपछि महत्वपूर्ण पात्र बन्न पुगेका छन् । अन्य दलका नेताहरुसँग बाक्लिएको सम्वाद, भेटघाट र उनी अध्यक्ष रहेको दल एकीकृत समाजवादीको निर्णयले माधव नेपाल राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेको प्रष्ट देखिएको छ ।

बुधबार दिउँसो बसेको एकीकृत समाजवादीले सचिवालय बैठकबाट राष्ट्रपति पद लिन पहलकदमी बढाउने औपचारिक निर्णय गरेको छ ।

बुधबारको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबारे कसैको प्रस्ताव नआएको बताए । ‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा, भेटघाटको सन्दर्भमा रिपोर्ट गरे’ नेता खनालले भनेका थिए, ‘तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाहिँ रिपोर्टिङ भएन ।’

जबकी एकीकृत समाजवादी संसदमा सांसद संख्याका आधारमा सातौं र वैधानिकताका आधारमा राष्ट्रिय दल समेत बन्न नसकेको शक्ति हो । तर निर्णायक शक्तिकै झल्को दिनेगरी निर्णय गरेको छ भने उक्त दलका नेताहरुको सार्वजनिक अभिव्यक्तिमा पनि बलियो आत्मविश्वास झल्किन्छ ।

नेता खनालले यस्तो बताइरहँदा एकीकृत समाजवादीकै निर्णयलाई बल पुग्ने प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग गरिरहेका थिए । चार दिनपछि प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्न बालुवाटार पुगेका ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन तयार रहेको बताएका थिए ।

‘हाम्रो मान्यता त १० पुस नै हो, किनकि विश्वासनीयताको कुरा हो, यो । तर हुन्नु भन्नु हुन्छ भने लचक बनाएर जाऔं’ प्रचण्डसँग ओलीको प्रस्तावबारे एमालेका एक नेता भन्छन् । ती नेताका अनुसार, लचक हुने भनेको माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव हो ।

ओलीले पाँच दिन अगाडि नेपाललाई गोप्य भेटवार्ता गरेरै राष्ट्रपति बन्न संकेत दिएका थिए । एक नेताको घरमा भएको त्यो भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड दबावमा परेका छन् । किनकि माधव नेपाल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन अगाडिबाटै प्रचण्डसँग एउटै कित्तामा उभिदै आएका नेता हुन् ।

अध्यक्ष नेपालले त्यही जटिलता बुझेरै सार्वजनिक अभिव्यक्ति र पार्टी निर्णय गराउनेतिर लागेका छन् । मंगलबार दाङ पुगेका अध्यक्ष नेपालले अरु दलका निम्ति बलिदान दिने मात्रै भूमिकामा अब नरहने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । ‘अरुका निम्ति मात्रै सधैंभरि बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने हुन सक्दैन’, अध्यक्ष नेपालको भनाइ थियो ।

ओलीको प्रस्ताव अनि प्रचण्डले पनि माधव नेपाललाई अलग गरेर जान सजिलो नरहेकोे पृष्ठभूमिबाट कांग्रेस पंक्ति समेत सशंकित बन्न पुगेको छ । बुधबार नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माधव नेपाललाई भेट्न पुग्नुले कांग्रेस नेताहरु सशंकित बनेको बुझ्न सकिन्छ ।

अझ दाङबाट माधव नेपाल काठमाडौं आउनासाथ रामचन्द्र पौडेल भेट्न पुग्नुको अर्थपूर्ण छ । किनकि एमाले गठबन्धनबाट प्रचण्डलाई अलग गर्ने प्रयास गरिरहेको कांग्रेसमा रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

स्रोतका अनुसार, नेपालले पौडेलले कुनै ठोस जवाफ दिएनन् । बरु पार्टी बैठक राखेर अध्यक्ष नेपालले राष्ट्रपति लिन पहलकदमी बढाउने निर्णय गराए । ‘हामीलाई सानो शक्ति बनेर हेप्ने गल्ती कतैबाट पनि हुनुहुन्न, दीर्घकालीन सोचका साथ नै पहल अगाडि बढाउँछौं’, एकीकृत समाजवादीका एक नेता भन्छन् ।

सचिवालय बैठकलगत्तै अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका थिए । महासचिव डा।बेदुराम भुसाल र सचिवालय सदस्य घनश्याम भूसाललाई साथमा लिएर अध्यक्ष नेपालले सभापति देउवासँग भेटवार्ता गरेका छन् ।

उच्च स्रोतका अनुसार, एकीकृत समाजवादीका नेताहरुले संसदका अन्य दलसँग पनि सम्वाद गरिरहेको छ । अहिलेको सरकारसँग असन्तुष्ट रहेका दलहरु एकीकृत समाजवादीको छलफलको प्राथमिकतामा रहेको ती स्रोत बताउँछ ।

राष्ट्रपतिको उम्मेदवारलाई मतदान गर्ने सांसदहरु (संघीय र प्रदेश) को कुल मतभार ५२ हजार ७८६ मा २ हजार ६५३ मत रहेको एकीकृत समाजवादीले यो तहको प्राथमिकता पाउनुमा ठूला दलहरुबीच देखिएको तानातानी हो । अहिलेकै गठबन्धन जोगाउने विकल्पका रुपमा ओलीले माधव नेपाललाई प्रस्ताव गरेका छन् भने माधव नेपालको समेत साथ लिएर प्रचण्ड गठबन्धन बदल्ने चाहनामा छन् । कांग्रेस नेतृत्वको गठबन्धनमा जानकै निम्ति एमालेले राष्ट्रपति लिने १० पुसको समझदारीबाट प्रचण्ड पछि हटेका छन् ।

२६ पुसमा कांग्रेसले पनि विश्वासको मत दिएको कारण देखाएर अहिलेका सत्ता गठबन्धनका दलहरु चिढ्याउने गरी प्रचण्ड एकपछि अर्को अडान लिइरहेका छन् । सँगै, प्रचण्डले लगातार कांग्रेस नेताहरुसँग सम्वाद गरिरहेका छन् । बुधबार ओलीसँग सम्वाद गरेपछि पनि प्रचण्डले बालुवाटारमै कांग्रेस नेताहरुसँग वार्ता गरे ।

कांग्रेस नेताहरु पनि राष्ट्रपति लिन प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने बताइरहेका छन् । ओलीले प्रचण्ड र कांग्रेसको तयारी बुझेरै माधव नेपाललाई राष्ट्रपतिको रुपमा अगाडि बढाउन तयार हुने प्रस्ताव ल्याएको बुझ्न सकिन्छ ।

कांग्रेस, एमाले र माओवादी केन्द्रबीच चलिरहेको यो शक्ति संघर्षकै बीच माधव नेपालले भने अडान लिएका छन् । अध्यक्ष नेपालको अडानकै कारण राष्ट्रिय राजनीतिको चासोमा एकीकृत समाजवादी पार्टी समेत परेको हो । दलहरुसँग भइरहेको सम्वाद मात्रै नभएर राष्ट्रपतिको निर्वाचन कोर्समा अध्यक्ष नेपालसँग चिनियाँ राजदूत छन् सङले समेत भेटेका छन् । बुधबार राजदूत सङ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

त्यसअघि बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र ५ फागुनमा ओलीसँग भेटवार्ता गरेका चिनियाँ राजदूत सङले नेपाललाई भेट्नुलाई अर्थपूर्ण मान्न सकिन्छ । किनकि गत वर्ष २ भदौमा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीलाई यसअघि चिनियाँ पक्षले प्राथमिकतामा राख्ने गरेका थिएन ।

अन्य दलका नेताहरुलाई प्राथमिकताका साथ भेटवार्ता गर्दा दुई जना पूर्वप्रधानमन्त्री नेपाल र खनाल रहेको एकीकृत समाजवादीलाई छुटाउने गरेको थियो । यसपटक भने कम्युनिष्ट पार्टीहरुको एकता चाहने चिनियाँ पक्षले समेत एकीकृत समाजवादीलाई प्राथमिकतामा राख्नुले राष्ट्रिय राजनीतिमा माधव नेपाल अर्थपूर्ण भूमिकामा रहेकै बुझाउँछ ।

तर माधव नेपाललाई राष्ट्रपति बन्न सजिलो भने देखिदैन । किनकि राष्ट्रपतिको चुनावमा निर्णायक प्रचण्डले कुनै ठोस निर्णय गरिसकेका छैनन् । एमालेसँग गठबन्धन तोडिसकेका छैनन् भने कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बचन दिइसकेका छन् ।

नेताहरुका अनुसार, प्रचण्डले नयाँ राष्ट्रपतिको प्राथमिकतामा माधव नेपाल राखेको पनि बताइरहेकै छन् । ‘कुन दलले कस्तो निर्णय लिन्छ, त्यो हेर्न बाँकी छ । तर हामी आफ्नो पोजिसन राख्छौं’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । अनलाइनखबरबाट