नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै

काठमाडौँ । आजदेखि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला यूएईमा सुरु हुँदैछ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

घरेलु मैदानमा स्कटल्यान्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै ४ खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो ।

गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृङ्खला भने पीएनजीले जितेको थियो ।

घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो । पहिलो खेलमा २ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २ सय ७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा रोहित पौडेलले १ सय २६ रन बनाए पनि नेपालले लक्ष्य भेट्टाउन सकेन । दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरिले १ सय ५ रन बनाउन सफल भएका थिए ।

नेपाल र पीएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृङ्खला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १ सय ५१ रनले हराएको थियो ।

लिग टु मा तीनवटै टिम आफ्नो आठौं शृङ्खला खेल्दैछन् । नवौँ तथा लिग टुको अन्तिम शृङ्खला नेपालमा लगत्तै हुनेछ ।