काठमाडौँ । चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’ले एउटी महिला विवाहपछि श्रीमान्सँग विदेशी भूमि गएपछि उनीमाथि आएको आपत्विपत् उनी एक्लैले कसरी सामना गर्छिन् भन्ने प्रस्ट्याउन खोजिएको छ । विदेशी भूमिलाई स्वर्ग देखाएर मोहित बनाउने यस चलचित्रले पहिलो पटक राम्रो पैसा कमाउने र विदेशी नागरिकताको लोभमा देशबाट शिक्षित मानिस पलायन भएको यथार्थ र दर्दनाक चित्र प्रस्तुत गरेको छ । चलचित्रमा दुई सन्तानकी आमा यस्तै यथार्थबाट गुज्रिएकी देखाइएको छ ।
बच्चा हुर्काउनु भनेको सानोतिनो काम होइन र यो कामका लागि कुनै पनि आमाले कहिल्यै पुरस्कार पाउँदैनन् । पुरस्कार छाडौँ, घरमा तारिफसमेत कमै पाउँछन् । हाम्रो समाजमा श्रीमतीको काम घर सम्हाल्ने हो भन्ने मान्यता छ । बच्चाहरू जन्माउने र पालनपोषण गर्ने । श्रीमान्को जिम्मेवारी कमाउने मात्रै हो । चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’ले यिनै कुराहरू देखाउँछ । विदेश गएका चटर्जी परिवारमा वास्तविक समस्या यही धारणाबाट उत्पन्न भएको हुन्छ । श्रीमान् काममा व्यस्त छन् र पत्नी दूध खाने बच्चा र भर्खरै हिँड्न सिकेको बच्चाको रेखदेख गर्न अन्योलमा छिन् । तर, नर्वेमा चलिरहेको एनजीओले यी आमाको दुःख देख्छ । उनलाई निगरानीमा राखिन्छ र एक दिन एनजीओका मानिसहरूले उनका दुवै छोराछोरीलाई घरबाट लैजान्छन् ।
चलचित्रकी नायिका रानी मुखर्जीले नर्वेजियन प्रशासनको नियन्त्रणबाट आफ्ना छोराछोरीलाई मुक्त गर्न लडेको एक्लो सङ्घर्षको कथा हो यो । ‘मिसेस चटर्जी भर्सेस नर्वे’जस्ता चलचित्रका अगाडि पहिलो चुनौती भनेको पहिलेदेखि नै परिचित कथालाई कसरी दर्शकको ध्यान केन्द्रित गर्न सकिन्छ भन्नेमा नै हो । यस मापदण्डमा चलचित्रका लेखक समीर सतिजा, राहुल हान्डा र निर्देशक आशिमा छिब्बरले शतप्रतिशत काम पूरा गरेको देखिन्छ । चलचित्रका संवादहरू बङ्गालीबाट हिन्दी र हिन्दीबाट नर्वेजियन र अङ्ग्रेजीमा रूपान्तरित गरिएको छ । दर्शक यही कारणले चलचित्रको कथासँग निरन्तर सम्बन्ध कायम गर्न सक्दैनन् । चलचित्र रानी मुखर्जीमा मात्र केन्द्रित भए पनि अन्त्यमा अदालतमा बहसका क्रममा बालाजी गौरी र जिम सरभको अभिनयले दर्शकलाई केही मात्रामा सिनेमाघरमा बाँधिराख्ने काम गर्छ ।
श्रीमती चटर्जीको भूमिकामा देखिएकी रानी मुखर्जीको काम प्रशंसायोग्य छ । जिम सरभ र बालजी गौरीको अभिनयले पनि दर्शकमा छाप छोड्छ । रानीले आफ्नो बच्चाबाट छुट्टिएर एक कमजोर पत्नीबाट क्रोधित र दुःखी आमाको भूमिकामा आफूलाई विश्वासयोग्य रूपमा उभ्याएकी छन् । त्यस्तै नर्वेजियन वकिल डेनियल सिंह सिपिक र भारतीय वकिल मिस प्रतापको भूमिकामा बालाजी र गौरी दुवैको काम प्रशंसनीय छ । गोरखापत्रबाट
Add Comment