मिटरव्याज पीडितहरुको समस्या समाधान गर्न निकै कठिन

काठमाडौँ । गृह सचिवले मिटरव्याज पीडितहरुलाई आन्दोलन स्थगित गरी घर फर्कन आव्हान गरिरहँदा पीडितका समस्या तत्काल सम्बोधन गर्न नसक्ने मन्त्रालयकै निष्कर्ष छ । पीडित जनताको समस्या समाधान गर्नका लागि धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट धारणा सरकारको छ ।

सोमबारबाट नै मिटरब्याज पीडितहरु जिल्ला जिल्लाबाट पैदलै आन्दोलनका लागि काठमाडौंमा होमिएका छन् । सो समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृहमन्त्रालयका सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको हो ।

मिटरब्याजी पीडितहरुसँग सरकारको तर्फबाट वार्ताका लागि प्रदर्शन स्थलमा पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम अधिकारी लगायतको टोलीले समस्या समाधानका लागि सरकारबाट पहल भइरहेको बताए ।

सहसचिव शर्माले पीडितहरुले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने र केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सक्रियता कम रहेको गुनासो गरेको भन्दै पीडितका माग सम्बोधनका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता जनाए ।

११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका पीडितहरूले सोमवार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए भने आज बिहानैबाट टंगालबाट बालुवाटारतर्फ विरोध शुरु गरेका हुन् । तर प्रहरीले घेरा हालेर उनीहरुलाई बालुवाटार छिर्न दिएन ।