अखिल नेपाल महिला संघको अध्यक्षमा टुका महासचिवमा पेम्बा लामा निर्वाचित

काठमाडौं । एमाले निकट महिलाहरुको संस्था अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा टुका हमाल एवं महासचिवमा पेम्वा लामा निर्वाचित भएकी छिन् । आइतबार सम्पन्न महाधिवेशनले हमाल अध्यक्ष रहेको दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो । १७ सदस्यीय पदाधिकारीहरूमध्ये उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, रूक्मणी राना, मेनका पोखरेल, मेनुका काफ्ले पोखरेल र सुमित्रा बिसी चयन भएका छन् ।

त्यस्तै, महासचिवमा पेम्बा लामा र उपमहासचिव शान्ति अधिकारी निर्वाचित भएका छन् । सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवी पुन, विना ज्ञवाली, मीना रखाल, आशा विक र कोषाध्यक्षमा इन्दिरा फुँयाल निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित हमाल यसअघि संघको गण्डकी प्रदेश संयोजक थिइन् भने महासचिव लामा सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख थिइन् । लामाले केन्द्रीय कमिटीको बैठकबाट स्थायी समिति गठन हुने र पाँच प्रतिशत केन्द्रीय सदस्यपछि मनोनीत गरिने बताइन् ।

गत २५ चैतमा एमाले अध्यक्ष केपी ओलीले संघको महाधिवेशन उद्घाटन गरेका थिए । ०६९ मा पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनपछि १० वर्षसम्म संघको महाधिवेशन भएको थिएन । छैटौँ महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्या भण्डारी संघको अध्यक्ष निर्वाचित भएकी थिइन् ।