प्रधानमन्त्रीद्वारा निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री दाहालसहित उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्यालासहितको टोलीले मङ्गलबार मकवानपुरको विभिन्न स्थानमा निर्माणाधीन द्रुतमार्गको निरीक्षण गरेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट द्रुतमार्ग निरीक्षणका लागि आएका प्रधानमन्त्री र मन्त्रीहरूसहितको टोलीले भीमफेदी गाउँपालिका –८ स्थित महादेवटार र मकवानपुरगढी –१ मा निर्माण भइरहेको सुरुङ तथा बकैया गाउँपालिका –५ स्थित पावस नजिकै बकैया खोलामा निर्माण भइरहेको पुलको निरीक्षण गरेका छन् ।

निरीक्षणमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल, प्रदेशका मन्त्रीहरू, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणालगायत सरकारी र सुरक्षा निकायका उच्च अधिकारीहरू पनि सहभागिता भएका थिए ।