कोशी प्रदेश सरकारको १०० दिनको कार्य विवरण सार्वजनिक

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले उपलब्धिको रूपमा अघिकांश पुरानै कामलाई समेटेका छन् । उनले भने, १ सय दिनमै के नै काम हुन्छ र यो सार्वजनिक गर्नु भनेको बिरालो बाँधेर श्राद्ध गरेजस्तै मात्रै हो,’ ।

कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण लगायतका विषय उल्लेख गरेका छन् ।

कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको, कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि १०० दिनको उपलब्धिमा राखिएको छ ।

आफू मुख्यमन्त्री भएपछि एउटा विधेयक निर्माणाधीन रहेको, प्रदेशसभाबाट ३ वटा विधेयक स्वीकृत भएको, प्रदेश प्रमुखबाट दुईवटा विधेयक प्रमाणीकरण भएको, प्रदेश सरकारको नियमावली तथा कार्यविधि, निर्देशिका बनेको उल्लेख छ ।

यस्तै आर्थिक क्षेत्रमा पदेश अन्तर्गतका सबै मन्त्रालयरआयोगरसचिवालयरकार्यालयहरूको चालु खर्चको २५ प्रतिशत खर्च कटौती गरी श्रोत व्यवस्थापनको प्रयास गरिएको, प्रदेशको आन्तरिक राजश्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको लगायतका विषय उल्लेख छ ।

९० वटा सामुदायिक वन तथा ३३ वटा कबुलियती वनको कार्ययोजना नवीकरण भएको विषयलाई पनि उपलब्धिको रूपमा राखिएको छ । उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीति अनुरूप प्रदेशमा पहिलो पटक दूध उत्पादनको आधारमा अनुदान वितरण कार्यक्रम अन्तर्गत व्यावसायिक रूपमा दूध उत्पादन गर्ने १६ हजार ९५ कृषकहरूलाई प्रति लिटर दुई रुपैयाँका दरले १ करोड १७ लाख रकम उपलब्ध गराइएको उल्लेख छ ।

प्रदेशमा समग्र कृषि क्षेत्रको व्यवस्थित र योजनाबद्ध विकासकाका लागि प्रदेशमा कृषि विकासको १० वर्षे योजनासहित २० वर्षे कृषि विकास रणनीतिको मस्यौदालाई अन्तिम रूप दिने कार्य पनि भइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।