गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्दो

पर्वत । यस वर्षको गर्मीयाम सुरु भएसँगै पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । हालसम्म ३ सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।

जिल्लाका सातवटै पालिकामा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा गरी अहिलेसम्म २९ वटा वनमा आगलागी भएको छ । आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेकाले समस्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले गत चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा दुई साताकै अवधिमा २९ स्थानमा रहेका वनमा आगलागीका घटनाहरू घटेको बताए ।

गत चैत २५ गते नै पैयूँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भिरमा आगलागी भएको थियो । चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लागेको थियो । चैत २६ गते नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भिरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक वनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको बताए । बढ्दो गर्मी र खडेरीका कारण अझै पनि आगलागीका घटना बढ्दै गएका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको छ ।

पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता प्रचलनले पनि आगलागी बढेको अधिकारीले बताए ।