‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, म उहाँलाई मन्त्री बनाउँछु’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउन आग्रह गरेका छन् । उनले आफूले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको बताए ।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका भट्टराईका लागि भोट माग्दै प्रधानमन्त्री दाहालले बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा भने, ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो । त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवाले भनेको वचन पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘यसअघि मैले तनहुँ आएर रामचन्द्र पौडेलजीको लागि भोट मागेको थिएँ, त्यसबेला मैले उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थिएँ । उहाँ मैले भनेकोभन्दा अझै ठूलो पदमा पुग्नुभयो, राष्ट्रपति बन्नुभयो । अहिले फेरि गोविन्द भट्टराईकोलागि भोट माग्न तपाईंहरूको अघि उभिएको छु,’। प्रधानमन्त्री दाहालले भने, मन्त्री बनाउने मैले नै हो । म गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु । हामी गठबन्धनका सबै शीर्ष नेताहरू यसमा प्रतिबद्ध छौं ।’

प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धनलाई हलुका रुपमा नबुझ्न आग्रह गरे । हाम्रो लभ अलि गहिरो भइसकेको रहेछ,ु उनले भने, ुहाम्रै निर्णयले अहिले फेरि राष्ट्रपति, उपराष्ट्रपतिदेखि संघ र प्रदेशका सरकारहरु बनाउने अवस्थामा पुगिएको छ । यसलाई सामान्य ढंगले नबुझिदिनुहोला । हामी अब मुलुकको अर्थतन्त्र सुधार्ने र विकासको बाटोमा देशलाई अघि बढाउनेमा केन्द्रित भइरहेका छौँ ।