राष्ट्रपति पौडेलको एम्समा उपचार सुरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।

राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए ।

राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलका अनुसार उनको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ ।

स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको हो । छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए ।