सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन सर्वोच्चको आदेश

काठमाडौँ । अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र सङ्कल गरी फोहोर उठाई विसर्जन गर्न गराउन काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ गराएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘रिट निवेदनले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र सङ्कलन गरी पठाई विसर्जनसमेत अविलम्ब गर्न गराउनू भनी काठमाडौं महानगरपालिकाको नाममा सर्वोच्च्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’’