पाल्पाको जोरधारामा बस दुर्घटना, १ को मृत्यु, ११ घाइते

पाल्पा। सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान सवा ९ बजे बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घाइते सबै जनलाई लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिए ।

बसमा रहेकाहरुको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्नबारे भने खुलसा भइसकेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।