रोकिएको ३ घण्टापछि नयाँ किरण माविको मतदान सुरु

काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा रोकिएको मतदान कार्य सुरु भएको छ।

मतदान स्थलमा रास्वपाका कार्यकर्ताले निर्वाचन चिह्न बजाउदै आएको भन्दै विपक्षी पार्टीले नाराबाजी गरेपछि १२ बजेदेखि रोकिएको मतदान कार्य अपरान्ह ३ ३० बजेबाट सञ्चालन भएको हो।

मतदान अधिकृत कमला न्यौपानेका अनुसार आचारसंहिता मिचेको विषयमा माफी माग्ने, मतदान केन्द्रको तीन सय मिटर वरिपरि शान्तिसुरक्षा कायम गर्ने, आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतलाई मतदान अधिकृतले लेखी पठाउने निर्णय भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको थियो । मतदान रोकिएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रलाई सुरक्षित गरिएको थियो । यस स्थलमा सात वटा केन्द्रबाट मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान सुरु गरिएको जानकारी दिए । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।

जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी छन् । यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।