महोत्तरीमा ९ राउण्ड हवाई फायर

काठमाडौँ । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।

सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्यास प्रहार गरेको जनाए । शान्तिपूर्ण नभएपछि सशस्त्रले चार राउण्ड हवाई फायर गरेको उनले बताए ।

घटना थप उग्र बन्दै गएपछि प्रहरीले थप ५ राउण्ड हवाई फायर गरेको गौशालास्थित इलाका प्रहरीका प्रहरी निरीक्षक मनोज यादवले जनाए । प्रदर्शनकारी बाँसको भाटा प्रहार गर्दा सशस्त्र र नेपाल प्रहरीका निरीक्षकद्वय शंकर थापा र मनोज यादव घाइते भएका छन् । सशस्त्र र नेपाल प्रहरीका गरी आठ जना सुरक्षाकर्मी घाइते भएको उनले बताए ।

झडपमा प्रदर्शनकारीतर्फका पनि दुई तीन जना सामान्य घाइते भएको जनाइएको छ। प्रत्यक्षदर्शीकाअनुसार प्रदर्शनकारीको उग्र भीडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

मलहनीया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । गाउँलेले भने आरतीलाई श्रीमान उमेश साह, नन्द आशा र सासू र जेठाजुले यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँका अधिकाशं महिलाले माईस्थान गौशाला सडमा टायर बालेर सोमबार अपराह्नदेखि विरोध प्रर्दशन सुरु गरेका थिए ।

‘‘महिला हिंसा बन्द गर, आरतीदेवी हत्याका अभियुक्तलाई पक्राउ गर, शान्ति सुरक्षा कायम गर’’ जस्ता नारा लगाउदै करिब तीन सयजति गाउँलेले सुरु गरेको प्रदर्शन उमेश साहको घरमा पुगेपछि उग्र बनेको थियो ।

घटनास्थलबाट प्रत्यक्षदर्शीले जनाएअनुसार प्रदर्शनकारीले साहको घरमा तोडफोड गर्न लागेपछि सशस्त्र र नेपाल प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रण लिएको थियो ।