फ्रेन्ड्सलाई पराजित गर्दै जाउलाखेल विजयी

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा एनकोटो मासोआबीले २ गोल गरे । राहुल र फोडे फोफानाले समान १–१ गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने श्यामबाबु क्यापछाकीले एक गोल फर्काए ।

खेलको २०औँ मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको छ मिनेटमा एनकोटोले जावलाखेलको अग्रता दोब्बर बनाए ।

त्यस्तै खेलको ६३औँ मिनेटमा उनले पेनाल्टीमार्फ व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता तेब्बर बनाए । पेनाल्टी क्षेत्रभित्र एन्जल महर्जनले ह्यान्ड गरेपछि जाउलाखेलले पेनाल्टी पाएको थियो । जसको सदुपयोग एनकोटोले गरे ।

त्यस्तै खेलको ८०अ‍ैँ मिनेटमा फ्रेन्ड्स क्लबका श्यामबाबुले एक गोल फर्काए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई ४–१ को जित दिलाए ।

यस जितसँगै जावलाखेलको १७ खेलमा ३० अङ्क भएको छ र अङ्क तालिकाको शीर्षस्थानमा उक्लेको छ । चर्च ब्वाइजको पनि समान ३० अङ्क नै रहेको छ । पराजित फ्रेन्ड्स १७ खेलमा १९ अङ्कसाथ ११अ‍ैँ स्थानमा छ ।