खानेपानीको अभाव झेल्दै लखनावासी

बाँके । बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ । लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताए। “जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ”, उनले भने ।
वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुले आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको बताए । जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयलेसमेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ ।  वडाको बजेटले खानेपानी योजना कार्यान्वयनका लागि सम्भव नरहेकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष वडाबाट खानेपानी योजना माग गरिएको उनले बताए ।
“वडामा आउने रु ५५ लाखको बजेटले ग्राभेल खसाउनसमेत सकिने स्थिति छैन, त्यसैले खानेपानी, शिक्षा र स्वास्थ्यका समस्यालाई समाधान गर्न पहल गरिदिन  दौडधुप गरिरहेको छु”, वडाध्यक्ष थारुले भने, “वडावासीलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि आगामी वर्षको बजेटमा प्राथमिकता दिन सबैलाई अनुरोध गरेको छु ।”
बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले लखना क्षेत्रलगायत कोहलपुरका अन्य क्षेत्रमा अझै पनि खानेपानीको समस्या रहेको स्वीकार्दै समाधानका लागि पहल भइरहेको बताए । लखनावासीले आफूसमक्ष पनि खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्याबारे जानकारी गराएको सुनाउदै उनले सङ्घीय, प्रदेश र नगरपालिकासँग समन्वय गरेर समस्याको समाधान हुनेगरी आफूले कार्ययोजना बनाएको उल्लेख गरे।
नगरपालिकाको दुर्गममा रहेको वडा नं ७ को लखनालगायत बस्तीलाई सडक पूर्वाधार सँगसँगै खानेपानी, शिक्षा र स्वास्थ्यको समस्या समाधान गर्न योजनाबद्ध तरिकाले काम गर्नुपर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले बताए ।  रासस