काभा महिला भलिबल : नेपालको लक्ष्य उपाधिमा ह्याट्रिक

काठमाडौँ । यही जेठ ८ देखि १४ गतेसम्म आयोजक नेपालले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने लक्ष्य राखेको छ ।

नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले नेपालको एउटै लक्ष्य उपाधिमा ह्याट्रिक गर्नु रहेको बताए । ‘‘हामीले तीन महिनादेखि राम्रो तयारी गरेका छौं । टोलीमा प्रतिभा माली नहुँदा केही अफ्ठेरो छ । तरपनि उनको स्थानमा खेल्न अरु खेलाडी तयार छन् । घरेलु कोर्ट र दर्शकको साथमा उपाधि जित्न चाहन्छौं । हामी सबै खेल जित्नका लागि खेल्नेछौ,’’ प्रतियोगिताको तयारी बारे नेपाल भलिबल संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टले भने। भट्टको साथमा नेपाली टोलीलाई बेल्जियन मुख्य प्रशिक्षक जान डे ब्रान्टले प्रशिक्षण दिए ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान रहेको छ । नेपालले जेठ ८ गते कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ देशको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।