प्रधानमन्त्री दाहाललाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले सातबुँदे ज्ञापनपत्र बुझाएको हो ।

सो ज्ञापनपत्रमा नेपालका विभिन्न सञ्चार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको छ । साथै फोटो सङ्ग्रहालयका लागि जग्गा भवन उपलब्ध गराउन पनि प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

ज्ञापनपत्रमा फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवीमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरुलाई पनि योगदानका आधारमा सम्मान गर्नुपर्ने माग गरिएको छ ।

फोटो पत्रकारहरुलाई व्यावसायिक, मर्यादित बनाउनका लागि तालिम दिन, वार्षिक रुपमा बजेट उपलब्ध गराउन र फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि सो ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले फोटो पत्रकारहरुका जायज मागहरु पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सो समूहका अध्यक्ष वन्तले जानकारी दिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै अध्यक्ष वन्तले भने “मागहरु जायज छन्, पूरा गर्न पहल गर्नेछु ।”