माछापुच्छ्रे बैंकबाटै चोरी भयो सेवाग्राहीको ९ लाख रुपैयाँ

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ ।

रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम चोरी भएको हो । यादव आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि बैंक खाताबाटै रकम चोरी भएको थाहा पाएका थिए।

यादवले बिहीबार मात्रै नेपाल बैंक लिमिटेडको तीन वटा चेक (१२ लाख २० हजार रुपैयाँ) आफ्नो खातामा क्लिरियन्सका लागि माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा दिएका थिए । खातामा रकम जम्मा भएको सन्देश पनि उनको मोबाइलमा गएको थियो ।

तर आइतबार ८ लाख रुपैयाँ खाताबाट झिक्न चन्द्रपुर शाखामा पुगेपछि कर्मचारीको कुरा सुनेर उनी मुर्छित बने । कर्मचारीले उनलाई खातामा मात्र ३ लाख २० हजार रुपैयाँ रहेको बताएका थिए । त्यसपछि उनी सोधखोज गर्न थाले ।

सेवाग्राही यादवले जम्मा गरेको रकम खातामा नरहेको थाहा पाएपछि तत्कालै शाखा प्रबन्धक रामजी दासलाई भेटे । तर शाखा प्रबन्धक दासले रकम कसरी चोरी भएको विषयमा केहि बताउन चाहेनन् ।

शाखा प्रबन्धक दासले ह्याकरले रुपैयाँ लगेको हुनसक्ने र यो विषयमा आफैँ सोधखोज गर्नु भनेर गैर जिम्मेवार जवाफ दिएको सेवाग्राही यादवले बताए ।

बैंक स्टेटमेन्ट समेत दिन नमानेपछि सेवाग्राही यादव र उनका आफन्तले चन्द्रपुर शाखामा होहल्ला गरेका थिए । खाताबाट रकम चोरी हुनुमा बैंकका कर्मचारीकै मिलेमतो रहेको भन्दै उनीहरू आइतबार बिहान ११ बजेदेखि अबेर रातिसम्म बैंक घेराउ समेत गरेको थियो ।

पीडित सेवाग्राहीले न्यायका लागि प्रहरी गुहारेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले बैंकबाट रकम चोरी भएको विषयमा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अनुसन्धानबाट सबै कुरा खुल्छ । संलग्न सबैमाथि कारबाही हुन्छ ।’

शाखा प्रबन्धक दासले सेवाग्राही यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी सिटिजन बैंक र सानिमा बैंकमा रकम ट्रान्सफर गरेको देखिएको जानकारी प्रहरीलाई दिएको बुझिएको छ ।

रकम चोरी भएको माछापुच्छ्रे बैंक उद्योगपति डा। उपेन्द्र महतो र जनता समाजवादी पार्टी ९जसपा०का सांसद विरेन्द्र महतो दाजुभाइको हो ।

सांसदबाट निर्वाचित भएपछि विरेन्द्रले बैंकको सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका थिए । अहिले उनकै दाइ उद्योगपति डा। उपेन्द्र बैंकको सञ्चालक समितिका अध्यक्ष छन् ।