७० लाखमा बनेको भवन तीन वर्ष नपुग्दै चर्किएपछि…

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालय निर्माण सम्पन्न भएको तीन वर्ष पनि नपुग्दै भवन चर्किन थालेपछि भवन निर्माणमा चरम लापरबाही भएको रहस्य बाहिर आएको छ ।

भाडाको भवनमा कार्यालय सञ्चालन गर्दै आइरहेको बुद्धशान्ति गाउँपालिकाको २ नम्बर वडा कार्यालयले अहिले आफ्नै ७० लाखको लागतमा नवनिर्मित एक तले पक्की भवनबाट वडा कार्यालयको सेवा प्रवाह गर्दै आइरहेको छ । तर, वडा कार्यालय सञ्चालनमा आएको अढाई बर्ष नहुँदै अहिले चिरा चिरा हुँदैं चर्कीन थालेको स्थानीबासी बताउँछन् ।

निर्माण सम्पन्न भएसंगै वडा कार्यालय २०७७ साल असार २९ गते तत्कालीन वडा अध्यक्ष दिलिप कुमार श्रेष्ठ, गाउँपालिका अध्यक्ष रमेश भुजेलसंगै स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा संघिय सांसद् पवित्रा निरौला खरेलले उद्घाटन गरेकी थिइन् । तामझामका साथ भव्य समारोहका बिच उद्घाटन गरिएको वडा कार्यालय अहिले चर्कीन थालेपछि ठेकेदार र प्राविधिकको कार्य सम्पादनमा प्रश्न उठेको छ ।

वडा कार्यालयले उपभोक्ता समिति मार्फत भवन बनाउन समिति गठन गरेको थियो । तर, उपभोक्ता समितिले एकमुष्ट भुक्तानी गर्ने गरी बुधबारेका झलेन्द्र श्रेष्ठको टिमलाई भवन निर्माणको जिम्मा दिइयो । स्टमेट अनुसार काम गर्नुपर्ने भनी ठेकेदारलाई भवन निर्माणको सम्पूर्ण जिम्मा दिइएको बताउँदै उपभोक्ता समिति र अनुगमन समितिले आवश्यक समन्वय मात्र गरेको जनाएको छ । समितिका अनुसार भवन जिर्ण हुनुमा ठेकेदार झलेन्द्र श्रेष्ठ र बुद्धशान्ति गाउँपालिकाका इन्जीनियर बिक्रम दाहालको गल्ती भएको बताउँछन् ।

नयाँ भवना आफ्ना वडाबासीलाई सेवा प्रदान गर्न पाइयो भनेर दंग भएका हामी अहिले कतिखेर दुर्घटना हुन्छ भन्ने त्रास बढेको जनप्रतिनिधिको भनाइ छ । यस भवनको सम्पूर्ण जिम्मा अब अघिल्लो कार्यकालको जनप्रतिनिधि, ठेकेदार र गाउँपालिकाका इन्जीनियरले लिनुपर्ने उनीहरुको भनाई छ ।