सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो।

सुनको मूल्यले लगातार तीन दिन नयाँ रेकर्ड राख्न सफल भएको छ।

आज सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो। यो मूल्य हाल सम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।

सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुन–चाँदी व्यवसायीहरूले बताएका छन्।

सोही कारण मंगलबारदेखि शुक्रबारसम्म सुन प्रतितोला पाँच हजार दुई सय रूपैयाँ बढिसकेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।