मिटरब्याजीविरुद्ध दर्ता भए २१ हजार बढी उजुरी

काठामाडौं। देशैभरीबाट मिटरब्याजीविरुद्ध २१ हजार भन्दा बढी उजुरी परेको छ । मिटरब्याजबाट पीडितहरूले २७ दिनमा सुदखोर साहुहरुविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा २१ हजार ५ सय ४८ उजुरी दर्ता गराएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएर स्थानीय साहुबाट लिएको ऋण बापत घरजग्गा हड्पनेदेखि लिएर मानसिक रूपमा यातना दिन थालेपछि अनुसन्धान र कारबाहीको लागि सरकारले आयोग गठन गरेको थियो । जाँचबुझ आयोगमार्फत समस्या समाधान गर्न उजुरी माग गर्दा बैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म मिटरब्याज साहुविरुद्ध ठुलो सङ्ख्यामा उजुरी परेको हो ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मधेस प्रदेशको आठ जिल्लाबाट सबैभन्दा बढी उजुरी दर्ता भएको हो । उनका अनुसार मिटरब्याजबाट पीडितहरूले मधेस प्रदेशको आठ जिल्लाबाट १७ हजार ८ सय ५६ उजुरी दिएका छन् ।

त्यस्तै कोशी प्रदेशमा ३७७, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी ३ हजार १२, कर्णालीमा ४५, सुदुरपश्चिममा १ सय ५७ उजुरी दर्ता भएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए ।

आयोगले पीडितहरूलाई प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमार्फत अथवा अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाएको थियो । सबै जिल्ला प्रशासन कार्यालयमा पीडितलाई उजुरी दिन एउटा छुट्टै कक्षको व्यवस्था गरिएको थियो । पीडितलाई सहयोगका लागि कार्यालयका कर्मचारीलाई खटाइएको थियो । सबै मिटरब्याज पीडितले फाराम भरुन् भनेर दोस्रो पटक समय थप गरी आयोगले उजुरी लिएको छ ।

आयोगले पहिलोपटक वैशाख १७ देखि ३१ गतेसम्म निवेदन दिने सूचना सार्वजनिक गरिएको थियो । त्यसपछि जेठ १४ गतेसम्मको लागि उजुरी दिने समय थप गरेको थियो । तर अझै उजुरी दिन छुटेका पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा गएर दर्ता गराउन सक्ने आयोगका अध्यक्ष कार्कीले जनाएका छन् । उनले पीडितले जैलेसुकै उजुरी दिए पनि अनलाइनमार्फत दर्ता हुने जनाए ।