हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामी अहिले हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भएको भन्दै टिप्पणी गरेका छन् ।

उनले हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परेको बताए । काठमाडौँ विश्वविद्यालय सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्दछ ।’ उनले काठमाडौँ विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो, प्रधानमन्त्रीले भने, हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परे । जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने रहेछ । यो विभिन्न देशको अनुभवहरू हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’