आज दक्षिण अफ्रिका जाँदै लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने आज (सोमबार) दक्षिण अफ्रिका जाने तयारीमा छन् ।

आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै दक्षिण अफ्रिका गइसकेको छ ।

बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी २९ असारमासम्मलाई सरेपछि उनी आज (सोमबार) प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका हुन् ।

नेपालले जेठ २५ गते स्कटल्यान्ड र २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।