भुटानी शरणार्थी प्रकरण:  धरौटीमा रिहा हुने रणनीतिमा टोपबहादुर र बालकृष्ण ?

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध सरकारी वकिल पक्षको बहस जिल्ला अदालत काठमाडौंमा जारी छ । आइतबारदेखि जारी बहस आज मंगलबार सकिँदै छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सह–महान्यायाधिवक्ता अच्युतमणि नेउपानेको नेतृत्वमा पक्राउ अभियुक्तविरुद्ध सात सरकारी वकिल बहसमा छन्।

बहसमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरे सहभागी छन्।
जिल्ला अदालत काठमाडौंका अनुसार सरकारी वकिल पक्षको बहस सकिन साथ प्रतिवादीको पक्षबाट बहस प्रारम्भ हुनेछ। बहस अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ।

घटनामा १८ अभियुक्त पक्राउ परेका छन्। १२ फरार छन्। उनीहरू विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसुर, सङ्गठित र ठगी कसुर अन्तर्गत मुद्दा चलाइएको छ।

उनीहरू विरुद्ध नक्कली शरणार्थीका नाममा ठगी भएको भन्दै एक सय १५ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। मुद्दामा २८ करोड ८४ लाख रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी भएको छ।

३१ जेठ सम्ममा बहस सकेर अदालतले अभियुक्तलाई पुर्पक्ष लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ। प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने लबिङमा छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति महान्यायाधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन्।

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइ प्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन्। पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि वहसका निम्ति ‘हाइ प्रोफाइल’ अधिवक्तालाई नै नियुक्त गरेका छन्।