नक्कली शरणार्थी प्रकरण : आजपनि थुनछेक बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा आज पनि जारी छ ।

गत आइतबार देखि सुरु भएको बहसमा जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा आज सरकारी वकिलहरुको बहस सकिनेछ ।

आज सरकारी वकिलको तर्फबाट बहस सकिएमा भोलिबाट प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । १८ जना प्रतिवादीका तर्फबाट बहस गर्न आधा दर्जन पूर्व महान्यायाधिवक्तासहित १०० जना भन्दा धेरै वकिलले नाम टिपाएका छन् ।

सरकारी वकिललाई बहस गर्न तीन दिनको समय निर्धारण गरेका न्यायाधीश न्यौपानेले प्रतिवादीतर्फका वकिललााई ६ दिनको समय छुट्याएका छन् । सरकारी वकिल र प्रतिवादी दुबैतर्फका वकिलको बहस सकेर आउँदो ३१ गते फैसला सुनाउने न्यायाधीश न्यषैपानेको तयारी रहेको छ ।

यस प्रकरणमा पूर्व मन्त्रीद्धय टोपबहादर रायमाझी र बालकृष्ण खाँण,पुर्व सांसद् आङटावा शेर्पा,तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायतका ३२ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ ।