थानकोटको दुर्घटनामा अस्ताए शिक्षक दम्पती

काठमाडौं । गत शनिबार दिउँसो अन्दाजी ३ बजे चन्द्रागिरि नगरपालिका-४ थानकोटमा भएको सवारी दुर्घटनामा परी शिक्षक दम्पतीको मृत्यु भएको छ।

काठमाडौं बाट शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पतीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

ना ५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ गल्छी गाउँपालिका(४ बैरेनीका ४० वर्षीय गोविन्दप्रसाद अधिकारी र उनकी ३७ वर्षीया श्रीमती जानुका अर्याल घाइते भएका थिए।

अधिकारीको सोही दिन ट्रमा सेन्टरमा मृत्यु भएको थियो।

उनकी श्रीमती अर्यालको भने सोमबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने ट्रक चालकलाई पक्राउ गरिसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका दुबै जना शिक्षक हुन्। उनीहरू गल्छी(५ मा रहेको जलकन्या आधारभूत विद्यालयमा कार्यरत थिए।
गोविन्दप्रसाद उक्त विद्यालयका प्रधानाध्यापक थिए। जानुका बाल विकास सहजकर्ताको रूपमा कार्यरत थिइन्।

गल्छी गाउँपालिकाका शिक्षा अधिकृत पेमादोर्जे थोकरका अनुसार उनीहरू दुबै जनाले शिक्षा सेवा आयोगको परीक्षा दिन काठमाडौं आएका थिए।

‘काठमाडौंमा शिक्षक सेवा आयोगले पदपूर्तिको लागि प्राथमिक तहको परीक्षा लिएको थियो। स्थायी हुनको लागि उहाँहरू काठमाडौं पुग्नुभएको थियो,’ उनले भने, ‘दुबै जनाले नै परीक्षा दिनुभएको थियो।’

उनका अनुसार गोविन्दप्रसाद राहत दरबन्दीमा शिक्षक भएका थिए। स्थायी हुन उनले पनि परीक्षा दिएका थिए।

परीक्षा सकेर दम्पती मोटरसाइकलमा फर्किँदै गर्दा थानकोटमा पुग्दा ट्रकले ठक्कर दिएको थियो।

प्रहरी वृत्त थानकोटका अनुसार उनीहरूको शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
मंगलबार पोष्टमार्टम सकेर परिवारलाई बुझाउने तयारी भइरहेको छ।

मृतक आफन्तहरूले पनि गल्छीमा अन्त्येष्टिको तयारी गरिरहेको सोही विद्यालयका शिक्षक सरोज अधिकारीले जानकारी दिए।

उनका अनुसार मृतक दम्पतीका ९ वर्षीया छोरी र ५ वर्षीय छोरा छन्।

‘हजुरआमा-बुवा हुनुहुन्छ घरमा, उहाँहरू छोराछोरीसँग यही हुनुहुन्छ। काकाहरू काठमाडौंमा पुग्नुभएको छ,’ अधिकारीले भने। गोविन्दप्रसाद र जानुकाको कमाइले उनीहरूको घर चल्थ्यो।

दुबै जनाको मृत्यु भएपछि छोराछोरीको लालनपालनमा समस्या हुने भएको अधिकारीले बताए।