बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन : असीम शाह

काठमाडौं । रास्वपाका सांसद असीम शाहले थन्किएर बसेका विद्युतीय बस सञ्चालनमा ल्याउन माग गरेका छन्।

उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले साझा यातायातसँगको सहयोगमा ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेर ल्याए पनि अहिले ३ वटा मात्रै सञ्चालनमा आएको बताए।

उनले भने, ‘अहिले ३ वटा सञ्चालनमा आएका छन् भने ३४ वटा अझै पार्किङमा थन्किएर बसेको छ। छोरो पाउने कहिले ? भोटो पाउने ? यो उखानले हामीले हाम्रा पूर्वजहरूको पूर्व तयारीको हतारोलाई दर्साउँछ। तर, विडम्बना हामी हाम्रो पूर्वजहरू भन्दा पनि कम छैनौँ। छोरो जन्मिसक्यो लगाउने भोटो छैन। बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन, बस गुड्न तयार छ तर, रुट परमिट छैन। सर्वसाधारण दिनहुँ कोचिएर थोत्रो बसमा यात्रा गर्न बाध्य छन्। तर, हामी सफा सुविधा सम्पन्न विद्युतीय बसलाई थन्काएर राखिरहेका छौँ। कतै हामीले माल पाएर चाल नपाएको पो नपाएको हो कि ?’

उनले जनताको रगत पसिनाले किनेको बसको खिया नलागोस् भनेर सरकारले ध्यानाकर्षण गराए।