पालिका अध्यक्षका छोराको दादागिरी : कार्यालयमै गएर कुटे कर्मचारी

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कार्यालयमै कर्मचारीलाई कुटपिट गरेका छन् । मिलन एमसीले कुटपिट गरेपछि यहाँका सबै कर्मचारीले काम छाडेर आन्दोलित भएका हुन् ।

उनीहरूले कार्यकक्षमै अनुचित कामको दबाब दिँदै कर्मचारीमाथि हातपात भएको अवस्थामा पीडकलाई कारबाही नहुँदासम्म काममा नफर्कने जनाएका छन् ।

अध्यक्षका छोरा मिलन माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

बुधबार दिउसो पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल,योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए ।

उनले भुक्तानी दिन भन्दै अपशब्द बोलेर कर्मचारी जिसीमाथि हातपात गरेको बताइएको छ । जिसीले यो विषय प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने क्रममा सबै शाखाका कर्मचारी जम्मा भएका थिए ।

सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिलन एमसीले टेलबमा पैसा फ्याँक्दै अश्लील गाली गरेको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्षका छोरालाई कारबाही माग गर्दै कर्मचारीहरुले अत्यावश्यक बाहेकका कामकाज बन्द गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले काम पूरा नभएको फाइलबाट भुक्तानीको दवावमा यस्तो गलत काम भएको बताउँदै कर्मचारीमाथि जाइलाग्नेहरुमाथि कारबाही हुनुपर्ने विषयमा आफू प्रष्ट भएको बताए ।

पालिका अध्यक्ष पितबहादुर एमसीले कार्यकक्षमै यस्तो घटना हुनु राम्रो नभएको भन्दै आफ्नो छोराले त्यो घटनाको नेतृत्व गरेको भन्ने विषय गलत भएको भन्दै बचाउ गरेका छन् । तर कर्मचारीले घटनापछि पालिकाको गाडीमा मिलन एमसीलाई भगाइएको र उनैले त्यो घटनाको नेतृत्व गरेको जनाएका छन् ।

पालिकाका सूचना अधिकारी हरि पोखरेलले आज सबै कर्मचारी बसेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिने बताए । ‘हाकिम साप तनावमा हुनुहुन्छ, हिजो नै हामीले पीडकलाई कारबाही नहुँदासम्म कुनै काम नगर्ने घोषणा गरिसकेका छौं, आज बसेर कसरी अगाडि बढ्ने भनेर हाकिम सावले बोलाउनुभएको छ’ उनले भने ।