फेरि एमाले मै फर्केलान् त वामदेव ?

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले आफु नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएको बताएका छन् ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।

तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने गौतमको शर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाई छ ।

उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए । उनले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।