बालेनले ‘आदिपुरुष’ बारे बोलेर ठीक गरे : असिम शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भारतीय फिल्म ‘आदिपुरुष’को बारेमा काठमाडौं महानगरका मेयर बालेन शाहले बोलेर ठीक गरेको बताए।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छिमेकीबाट स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको विषयमा सरकारले सास दबाएर बसेको आरोप लगाए।

‘सरकारले सास दबाएर बसेपछि कोही न कोहिले कुनै न कुनै बेला बोल्नुपर्थ्यो। बालेनले बोले सही गरे। परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने।

उनले जुन संवादले विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित संवाद काटेर नेपालमा पठाएको तर काठमाडौंका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चलन नदिने भने पछि अन्योलता छाएको बताए।

उनले भने, ‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उताको भनेको छ। कहिले कालापानी, लिम्पियाधुरा हाम्रो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ।’

‘हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नु पर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर,’ उनले थपे।