नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौ । संघीय संसदअन्तर्गत अर्थ समितिले नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

मंगलबार बिहान बसेको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । जेठ २९ मा बसेको बैठकले भने लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । नयाँ स्टक ब्रोकर एशोसिएशन लाइसेन्स प्रक्रिया खुलाउन दौडधुपमा थियो ।

मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरूसँग छलफल गरेपछि समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रियामा व्यापारिक घरानाको स्वार्थ मिसिएको र सोही स्वार्थमा रहेर नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिएको आरोप लाग्दै आएको छ । सर्वोच्च अदालतले खुला गरिदिएको लाइसेन्स प्रक्रिया संसदीय अर्थ समितिले रोकेको थियो ।

स्टक ब्रोकरका लागि ४५ वटा आवेदन परेको थियो । यसमा ४२ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको बोर्डले १८ वटा कम्पनीलाई अन्तिम लाइसेन्ससमेत दिइसकेको छ ।