जनताले हालेको भोटको आधारमा कम र बढी विकास गर्ने भन्ने हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले जनताले हालेको भोटको आधारमा विकासको आधार निर्माण नगर्ने बताएका छन् ।

भरतपुर महानगरपालिका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले कम भोट आएको ठाउँमा कम विकास र बढी भोट आएको ठाउँमा बढी विकास गर्न नहुने बताएका हुन् ।

लामिछानेले पाँच वर्षमा आफ्नो पार्टीले उल्लेख्य काम गर्ने भन्दै राज्यबाट नै विकासमा विभेद भएको गुनासो गरे । “भोट हालेको र नहालेकै आधारमा हामीले जनतालाई विभेद गर्न हुँदैन”, उनले भने, “कम भोट आएको ठाउँमा कम विकास र बढी भोट आएको ठाउँमा बढी विकास भन्ने हुँदैन ।”

“जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो विकास हो”, उनले भने “विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ ।” उनले पार्टीका कार्यकर्तालाई झन्डा बोकेर नभई आम नागरिक बनेर जनताको सेवक बन्न आग्रह गरे ।

उनले आफूले आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणका काम गर्ने बताए । जहाँ शिक्षा, स्वास्थ्य र खानेपानीको प्रबन्ध छैन, त्यहाँ पहिला विकासका काम गर्नुपर्ने भन्दै उनले सिङ्गो देशको समस्यालाई प्रमुख विषयवस्तु बनाएर अघि बढ्ने बताए ।

देश विदेशका सबै नेपालीको समस्या हाम्रै समस्या रहेकाले एक–एक गरेर समाधान गर्दै जाने प्रतिबद्धता उनले जनाए ।