साफ च्याम्पियनशिप आज कुवेत विरुद्ध भिड्दै नेपाल

काठमाडौं । १४औं संस्करणको पुरुष साफ च्याम्पियनशिप फूटबल प्रतियोगिता आजबाट शुरू हुँदै छ। पहिलो खेलमा आज नेपाल र कुवेत भिड्दै छन्।

खेल भारतको बेंगलोरस्थित श्री कान्तिराराव स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बाट शुरू हुनेछ।

फूटबलमा नेपालको तुलनामा कुवेत बलियो राष्ट्र हो। कुवेत पछिल्लो फिफा वरीयतामा १४३औं स्थानमा छ। नेपाल १७४औं स्थानमा छ।

सार्क अन्तर्गतका राष्ट्रहरू प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा यस पटक कुवेत र लेबनन पनि आमन्त्रित टोलीका रूपमा भाग लिंदैछन्।

नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र कुवेत छन्। यस्तै समूह ‘बी’ मा बाङ्लादेश, भुटान, लेबनन र माल्दिभ्स छन्।

आजै प्रतियोगितामा भारत र पाकिस्तान पनि भिड्दैछन्। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बाट शुरू हुनेछ।