अदालतले अन्तरिम आदेश दिएपनि बालेनको चेतावनीपछि चलेन भारतीय फिल्म

काठमाडौं । अदालतले अन्तरिम आदेश दिएपनि महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुन चेतावनी दिएपछि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् । शाहले आफुले अदालतले दिएको आदेश नमान्ने बताएपछि प्रदर्शकहरू रिस्क नलिने मुडमा पुगेका हुन् ।

उच्च अदालतले हिजो भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको थियो । तर, मेयर बालेनले देशको सार्वभौमिकताको प्रश्नमा अदालतको आदेश पनि नमान्ने भन्दै भारतीय फिल्म चल्न नदिने अडान लिएका छन् ।

बालेनको अडानको पक्षमा व्यापक जनसमर्थन देखिएकाले प्रदर्शकहरू हिन्दी फिल्म चलाउन डराएका हुन् । आज कुनै पनि मल्टिप्लेक्स चेनमा भारतीय चलचित्रको शो राखिएको छैन । क्यूएफएक्स, एफ क्युव, वान सिनेमालगायत कुनै पनि हलले भारतीय सिनेमाको बुकिङ खुलाएका छैनन् । ती सबै हलमा नेपाली र अंग्रेजी सिनेमा चलिरहेका छन् ।