गोरखा दुर्घटनाका बारेमा सांसदहरुले के-के भने ?

काठमाडौं । पहाडी भेगमा क्षमताभन्दा बढी यात्रु ओसारिएको भन्दै सांसदहरूले ध्यानाकर्षण गराएका छन्।

गोरखाको मनकामना भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। यसबारे गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आवाज उठाएका हुन्।

सांसद राजेन्द्र बजगाईंले जीपमा १७ जना हालिएको भन्दै नियमन हुनुपर्ने बताए।

‘मनकामनाको काखमा दुर्घटना भएको छ। पाँच जनाको देहान्त भएको छ। तर, एउटा बलेरोमा १७ जना सवार थिए। यसलाई सम्बन्धित मन्त्रालय र प्रशासनमार्फत् तत्काल ध्यानकर्षण होस् आचारसंहिता के होरु बलेरोले प्यासेन्जर बोक्न पाउने हो कि होइनरु,’ उनले भने, ‘मलाई लाग्छ होइन। ढुवानीको लागि हो। तर मध्यरातमा चलाइएको छ। यसबारे छानबिन होस्।’

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हरेक दिन कहाँबाट दुर्घटना आयो भन्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए।

‘पहाडी इलाकामा बारम्बार धेरै यात्रुहरू गाडीमा रहनाले पनि दुर्घटना भइरहेको छ, यसमा पनि सरकारको ध्यान जाओस्,’ पाण्डेले भने।

शहिद लखन गाउँपालिका–३ मा गएराति सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले पनि शोक बिदा दिएको छ।

दुर्घटनामा १२ जना घाइते भएका थिए। मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ। दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापा रहेको प्रहरीले जानकारी दिएको छ।