नेपालले नेदरल्यान्ड्सलाई दियो झिनो रनको लक्ष्य

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपालले कमजोर ब्याटिङ गर्दै १६८ रनको झिनो रनको लक्ष्य दिएको छ ।

शनिबार नेपाल ४४.३ ओभरमा १६७ रनमै आउट भएपछि नेदरल्यान्ड्सले १६८ रनको सामान्य लक्ष्य पाएको हो।

जिम्बावेको ताकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले तेस्रो ओभरदेखि विकेट गुमाउन सुरू गरेको थियो।

नेदरल्यान्ड्सको तीव्र गतिका बलरसामू नेपाली ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्।

ओपनिङ ब्याट्म्यान आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा भान वीकबाट शून्यमा बोल्ड हुन पुगे। सुरुवातमै दबाबमा परेको नेपालका ओपनर कुशल भुर्तेल १४ ओभरसम्म टिके पनि १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए। २७ रन जोडेर आउट हुनुअघि उनले ४२ बलमा २ चौका हिर्काए।

दुई ओभरपछि आरिफ शेख ६ रनमा बिक्रमजितकै बलमा भान वीकबाट क्याच भए।

यस्तै भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए। केहिबेर कप्तान रोहित पौडेलसँग साझेदारी गर्दा १ छक्का हिर्काएका कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किए।

कप्तान रोहित पौडेल छैटौं विकेटको रुपमा ३२औं ओभरमा ३३ रनमा आउट भए। रोहितले आउट हुनुअघि ५५ बलमा ३ चौक र १ छक्का हिर्काए। दीपेन्द्रसिंह ऐरी १४ रनमा भान वीकको बलमा आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो।

सन्दीप लामिछानेसँग आठौं विकेटका लागि ३२ रनको साझेदारी गरेका गुल्सन झा ४२औं ओभरमा १५ रनमा डि लीडको बलमा विकेट पछाडि समातिए। चार बलपछि करण केसी १ रनमा उस्तै अवस्थामा क्याच हुँदा नेपालको नवौं विकेट गएको थियो।

सन्दीप लामिछाने ३३ बलमा ४ चौकाको मद्दतमा २७ रन जोड्दा नेपालले १५० रन कटाएको थियो।

बलिङमा नेदरल्यान्ड्सका भान वीकले ४ विकेट लिए। डि लीड र बिक्रमजितले २-२ विकेट हात पारे।

समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक छ। सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।