विश्वकप छनोट : नेदरल्यान्ड्ससँग नमिठो हार बेहोर्दै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समूहचरणबाटै बाहिरिएको छ। शनिबार भएको खेलमा नेपाल नेदरल्यान्डलाई जित्नैपर्ने दबाबमा रहेको खेलमा ७ विकेटले पराजित भएसँगै विश्वकप छनोटको ‘सुपर सिक्स’मा पुग्न असफल भयो।

नेपाल पराजित भएसँगै समूहको शीर्ष तीन समीकरण पूरा भएको छ। सुपर सिक्समा पुग्ने टोलीमा समूह ‘ए’बाट जिम्बाब्वे, वेस्टइन्डिज र नेदरल्यान्ड्स रहे। नेपाल र अमेरिका भने समूहचरणबाटै बाहिरिए।

आफ्नो अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै खराब प्रदर्शन गरेको थियो। नेपालका लागि कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा ४४.३ ओभरमा १६७ रनमात्र बनाउन सकेको थियो। जवाफमा उक्त लक्ष्य नेदरल्यान्डसले २७ ओभरमा नै ३ विकेट गुमाएर पूरा गरेको थियो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ९० रनको इनिङ खेल्दा बिक्रमजित सिंहले ३० रन बनाए। त्यस्तै, बास डे लिडले ४१ रनको अविजित इनिङ खेले। नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्शन झाका नाममा एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए। त्यस्तै, भिम सार्कीले २२ रन बनाउँदा कुशल मल्ल १२ रनमा आउट भए। थप दोहोरो स्कोरका रुपमा दीपेन्द्र सिंह ऐरीको १४ रन बनाउँदा गुल्शन झा १५ रनमा आउट भए। त्यस्तै, सन्दीप लामिछाने २७ रनमा आउट भए।

नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ४ विकेट लिँदा बिक्रम जित सिंह र बास दि लिडले समान २–२ विकेट लिए। त्यस्तै, क्लेटन फ्लोइड र अर्यान दत्तले समान १–१ विकेट लिएका थिए।