विश्वासको मत लिने तयारीमा कोशी प्रदेशका मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् । उनले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेको जनाइएको छ ।

जसअनुसार उनले असार १४ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिनेछन् । प्रदेश सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु परेको हो ।

संविधान अनुसार सत्ता साझेदार कुनै पनि दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्रमा प्रदेशसभाबाट पुनः विश्सासको मत लिनुपर्ने हुन्छ । ऐनको सोही व्यवस्था बमोजिम यही असार १४ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । हाल प्रदेश सरकारमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् ।

कार्कीलाई आफ्नो सरकार टिकाउनका लागि एक सांसदको आवश्यक पर्छ । अल्पमतमा परेको कार्की नेतृत्वको सरकार टिकाउन अन्य दलहरूलाई फकाउने र बहुमत पुर्‍याउने तयारीमा एमाले लागेको छ ।