घुस लिँदैगर्दा सहायक वन अधिकृतसहित ६ जना पक्राउ

काठमाडौँ । उदयपुरको मैनामैनीस्थित सव डिभिजन वन कार्यालय प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई प्रहरीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको अवस्थामा इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनसन्धान आयोगले जनाएको छ।

नियन्त्रणमा लिइएकामा यादवसहित सव डिभिजन वन कार्यालय, लालबजार रामपुरका प्रमुख एवं सहायक वन अधिकृत विनोदकुमार साह, फोरेस्टर रमेश राई, सव डिभिजन वन कार्यालय, मैनामैनीमा कार्यरत फोरेस्टर विशेश्वर चौधरी र वनरक्षकद्वय शैलेन्द्र झा तथा मनोजकुमार राउत छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।