पूर्वमिस नेपाल श्रृंखला सिरोहिया परिवारकी बुहारी बन्दै

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा कान्तिपुर मिडिया व्यवसायी सम्भव सिरोहियासँग प्रेम सम्बन्धमा रहेको चर्चाले केही समयदेखि राम्रै स्थान पाईरहेको छ ।

उनीहरुको बिचमा प्रेम सम्बन्ध मात्र नभई इंगेजमेन्टसमेत भइसकेको गाईंगुईं हल्ला पनि छन् । तर, दुवैका तर्फबाट आधिकारिक जानकारी आएको छैन ।

पारिवारिक स्रोतका अनुसार श्रृंखला चाँडै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको परिवारमा बुहारी बनेर भित्रिने तयारीमा छिन् । विवाहको विषयमा दुवै पक्षका परिवारबीच आपसी सहमति भइसकेको स्रोतको भनाइ छ । अध्ययनका लागि अमेरिकामा रहेकी श्रृंखला केही दिनअघि नेपाल फर्किएकी थिइन् ।

यसैबीच सम्भव सिरोहियाका भाइ अनुभव सिरोहियाको इंगेजमेन्ट सम्पन्न भएको छ, जसमा श्रृंखला पनि सहभागी भइन् । सम्भव र श्रृंखला ‘कपल’ को हिसाबले इंगेजमेन्टमा प्रस्तुत भएका थिए । सिरोहिया परिवारको तस्वीरमा पनि श्रृंखला अटाएकी छन्, जहाँ उनी सम्भवको आडमा देखिन्छिन् । यो तस्वीरले उनी सिरोहिया परिवारको हिस्सा बनिसकेको संकेत गर्छ ।

यति मात्र होइन । अनुभवकी हुनेवाला पत्नी मयंका राणाले श्रृंखलाको खुट्टा छोएकी थिइन् । यो दृश्यले चाहिँ सम्भव र श्रृंखलाको इंगेजमेन्ट भइसकेको हो कि भन्ने अड्कल गर्न सकिन्छ ।