बारामा भारी वर्षा, यी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बारा जिल्लाको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया जलाधारको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

लालबकैया नदी र सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै आज इलाम, झापा, पाँचथर, सङ्खुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स९साना नदीहरूमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाहरूका तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।