अवरूद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड साँझसम्म खुल्ने

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला (३ नम्बर पुल) को पहिरो पन्छाउन आइतबार साँझसम्म लाग्ने भएको छ।

गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन बिहानैदेखि स्काभेटर परिचालन गरिएको भए पनि पन्छाउन नसकिएको चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले जानकारी दिए।

‘अहिले दुई वटा स्काभेटर र दुई वटा लोडर परिचालन गरेर पहिरो पन्छाइराखेका छौं। ठुल्ठूला ढुंगा थुप्रिएर रहेकाले साँझसम्म लाग्ने भयो,’ उनले भने।

तुइन खोलाको मुग्लिनपट्टिको भागमा पहिरो गएको छैन। तर, नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खस्ने उनले बताए।

‘अहिले पहिरो खस्न रोकिएको छ। हामी छिटोभन्दा छिटो आवागमन सुरू गर्न प्रयासरत छौं,’ उनले भने।

उनका अनुसार मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको उनले बताए। यता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको छ।

‘हामीले दुवैतर्फ तीन-तीन खण्डमा सवारी रोकेका छौं। हिजो दिउँसो रोकिने, खुल्ने गरेर पनि सबै सवारी पास गराउन सकिएको थियो। गएरातिदेखि पहिरो खस्न थालेपछि आवागमन अवरूद्ध हुन पुग्यो,’ उनले भने, ‘अहिले रोकिएका हिजोदेखिका सवारी हुन्।’

उनले साना सवारीका लागि हेटौंडा-पालुङ-नौबिसे, हेटौंडा-भीमफेदी-दक्षिणकाली हुँदै काठमाडौं आउने वैकल्पिक बाटो भए पनि ठूला सवारीलाई विकल्प दिन नसकिएको बताए।

जसका कारण लामो दूरीका यात्रुहरू मर्कामा छन्। गएरातिदेखि रोकिएका यात्रुको सडकमै बास भएको छ।
‘ठूला सवारीका लागि पहिरो पन्छाउञ्जेल पर्खनुको विकल्प छैन। कमजोर चट्टान र माथिदेखिकै भूभाग खसिरहेकाले जतिबेलै पहिराको जोखिम रहन्छ,’ तामाङ भन्छन्।